नेक्स्ट ग्रोथ कनक्लेभ सकियो

23 Dec 2017

कान्तिपुर संवाददाता

काठमाडौ ‘ स्टार्टअप’ मा आबद्ध उद्यमी, व्यवसायी, लगानीकर्ताको विकासमा काम गर्दै आएको ‘नेक्स्ट भेन्चर कर्प’ ले शुक्रबार राजधानीमा आयोजना गरेको दोस्रो ‘ नेक्स्ट ग्रोथ कनक्लेभ’ सम्मेलन सकिएको छ ।

‘ ग्रो फास्टर थिम’ मा आधारित सम्मेलनमा एक हजार हाराहारी उद्यमी, व्यवसायी, लगानीकर्ता र सरोकारवाला सहभागी थिए । कर्पका प्रोग्राम डेभलपमेन्ट अफिसर आयुष मानन्धरका अनुसार सम्मेलनमा नेपालसहित पाँच मुलुकका विज्ञहरूले ‘व्यवसायलाई अर्को चरणको उचाइमा कसरी लैजान सकिन्छ ?’ भन्ने सवालमा केन्द्रित सफलताका कथा र सूत्रहरू सुनाएका थिए । ‘ स्टार्टअप’ समुदायबाटै उदाएका मलेसियाबाट वारेन ल्यावोले ‘ सानो अर्थतन्त्र भएको मुलुकका उद्यमीहरूले विश्व बजारमा पहुँच कसरी पुर्याउने ?’ भन्ने विषयमा बोलेको थिए । उनीजस्तै सानो आकारको उद्यमबाट रेमिट्यान्सलाई अन्तर्राष्ट्रिय तहसम्म फैलाउन सफल आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकालले ‘ नेपालबाट सुरु भएका उद्यमहरूले कसरी ठूलो आकार लिन सक्छन् ?’ भन्ने विषयमा धारणा राखेका थिए ।

महतो गुप्र अफ इन्डस्ट्रिजका संस्थापक उपेन्द्र महतोले ‘ नेपालमा लगानी गर्न किन उपयुक्त छ ?’ भन्ने विषयमा आफ्ना भनाइ राखेका थिए । भारतमा चर्चित रहेको ‘ कुइकरडटकम’ का उपाध्यक्ष नितिन सेठीले ‘ नेपाली उद्यमीहरूलाई ग्राहकको चाहना बुझेर कसरी आफ्नो व्यवसायलाई विस्तार गर्न किन जरुरी छ ?’ भने बारे प्रस्ट्याएका थिए । त्यस्तै फिनल्यान्डका चन्द्र चलोङगाले ‘ प्रविधिमा आधारित उद्यम’ बारे , अमेरिकीवक्ता अर्नुद बनजोमले ‘ उदाउंदो व्यवसाय’ र इन्डोनेसियाका साजित र हमानले ‘ ठूलो कम्पनी कसरी बनाउने ?’ भन्ने विषयमा बोलेका थिए ।

सम्मेलनमा बैंकर तथा बिजनेस अक्सिजनका अध्यक्ष सिद्धान्तराज पाण्डेले ‘ साना तथा मझौला उद्यममा नेपाल सरकारले लगानी गरेर कसरी अर्थतन्त्रको विकास गर्न सक्छ ?’ भन्ने धारणा राखेका थिए ।

मलेसियाकी ललिथा वेमेल, भारतका अर्जित भट्टाचार्य, फिनल्यान्डका मोहम्मद सब्बिर लगायतले पनि उद्यम विकासका सूत्र र कथा सुनाएका थिए । सम्मलेनमा ‘ स्टार्टअप भ्याली’ पनि राखिएको थियो । जहाँ ३० हाराहारी उद्यमी व्यवसायीहरूले आफ्ना उत्पादन र सेवा प्रदर्शन गरेका थिए । ‘ नेक्स्ट भेन्चर कर्प’ नेपालमा पछिल्लो समय नया“ उद्यमी अथवा मझौला व्यवसायलाई विकास गर्ने तरिका सिकाउने , मद्दत गर्ने, ‘ को वोर्ककिङ स्पेस’ दिने , लगानीकर्ता जुटाइदिने , परामर्श, निगरानीलगायतमा ‘ मेन्टर सिप’ को काम गर्दैआएको छ ।